काठमाडौं । आगामी चैत्र १७ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ को मोस्ट भ्यालुएवेल प्लेयर अर्थात सर्वोत्कृष्ट खेलाडीले सुनको जुत्ता (गोल्डेन बुट) पाउने भएका छन्।
आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने जनाएको हो ।
आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।
डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।








