ललितपुरको लुभूमा घरमै सुत्केरी हुने दर शून्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुरको लुभूमा घरमै सुत्केरी हुने दर शून्य


११ चैत्र २०७४, आइतबार


ललितपुर । ललितपुरको लुभू प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा घरमै सुत्केरी हुने दर शून्य रहेको छ।

एक दशक पहिले ‘बर्थिङ सेन्टर’ (जन्मकेन्द्र) शुरु भएपछि सबै गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेको केन्द्रले जनाएको छ।

केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन लाबदले सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको बताए। पहिले नियमित जाँचका लागि समेत महिलालाई ग्वार्को वा लगनखेल पुग्नुपर्ने बाध्यता थियो।

उनले भने, –अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन विपन्न पनि स्वास्थ्य संस्थामा जान्छन्। केन्द्रमा स्थानीयवासी महिला पनि आउँछन्। अस्थायी रुपमा बसोबास गरेका विपन्न महिलाका लागि केन्द्र अझै सजिलो भएको छ।

नजिकैको स्वास्थ्य संस्थामा सेवा पाउने भएपछि महिलाले अरु काम भ्याएर समेत जचाउने गरेका छन्। केन्द्रमा जाँच गर्न आउनेका तुलनामा सुत्केरी हुन आउने कम छन्। वार्षिक झण्डै तीनचार सय महिला जाँच गराउनका लागि आउँछन्। केन्द्रमा सबै खालका जाँचका लागि चिकित्सक र उपकरण छन्।

उनी भन्छन्, ‘नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे सम्झाइरहेका छौंँ।’ गत साउनदेखियता २१ महिलाले केन्द्रमा सन्तानलाई जन्म दिइसकेका छन्। यो संख्या अघिल्लो वर्ष ३० थियो।

प्रतिक्रिया दिनुहोस