काठमाडौँ । बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।
‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’
बैठकमा काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।
काँग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । काँग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।