काठमाडौँ । भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए ।
लोकसभा चुनावको मिति घोषणा भएको केही दिनपछि उनले आफू बिरामी रहेको जानकारी दिएका थिए । उनले एक्समा लेखेका थिए, ‘म पछिल्लो ६ महिनादेखि क्यान्सरसँग जुधिरहेको छु । अब मलाई लाग्छ, यसबारे सबैलाई मैले जानकारी दिनुपर्छ । म लोकसभा चुनावमा खासै केही गर्न सक्दिनँ ।’
सुशीलकुमार मोदी बिहारको राजनीतिमा करिब ५ दशक सक्रिय रहेका थिए । दुई कार्यकाल (२००५-२०१३ र २०१७-२०२०)मा उनी ११ वर्षभन्दा धेरै समय बिहारको उपमुख्यमन्त्री रहे । उनकै नेतृत्वमा भाजपाले जनता दल यूनाइनेटसँग सहकार्य गरेको थियो । नीतीश कुमार मुख्यमन्त्री हुँदा मोदी उपमुख्यमन्त्री बनेका थिए । बिहारमा भाजपाका संस्थापक कैलाशपति मिश्रापछि मोदी सबैभन्दा प्रभावशाली नेताका रूपमा थिए ।