विद्यार्थी विदेश लैजान ३५ वटा शैक्षिक मेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्यार्थी विदेश लैजान ३५ वटा शैक्षिक मेला


१० माघ २०७४, बुधबार


काठमाडौं । पछिल्लो समय शैक्षिक मेला आयोजना गर्दै नेपालबाट विदेशमा विद्यार्थी लैजाने क्रम बढेको छ । विगतमा एक–दुई संस्थाले गर्दै आएकामा केही समययता मेला गर्नेको संख्या ह्वात्तै बढेको छ । यो आर्थिक वर्षमा मात्रै ३५ वटा संस्थाले शैक्षिक मेलाका लागि स्वीकृति लिएका छन् ।

शैक्षिक मेला गर्नेमा अधिकांश नेपाली शैक्षिक संस्था रहेका छन् । शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका शाखा अधिकृत तारानाथ निरौलाका अनुसार चालू आवमा स्वीकृति पाएका ३५ मध्ये पाँचवटा विदेशी संस्थाले शैक्षिक मेला आयोजना गरेका छन् । यो वर्ष धेरै शैक्षिक मेला आयोजना भएको उनको भनाइ । मेलाका लागि नेपाली संस्थाले पाँच हजार र विदेशी संस्थाले एक हजार डलर राजश्व तिर्नुपर्ने व्यवस्था छ । कतिपय शैक्षिक संस्थाले विद्यालय शिक्षाका लागि समेत स्वीकृति माग्ने गरे पनि शिक्षा मन्त्रालयले स्वीकृति दिएको छैन । निरौलाका अनुसार विद्यालय शिक्षा राज्यको दायित्व भएकाले त्यसका लागि शैक्षिक मेला गर्न स्वीकृति नदिइएको हो ।

पहिले शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक मेला आयोजना गर्ने गथ्र्यो । पछिल्ला समयमा एउटै कन्सल्टेन्सीले पनि शैक्षिक मेला आयोजना गर्दै आएका छन् । अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न अहिले काठमाडौं उपत्यका मात्र नभई बाहिरसमेत शैक्षिक मेला भइरहेका छन् । अधिकांश संस्थाले तारे होटल तथा सुविधा सम्पन्न ठाउँमा मेला आयोजना गर्दै आएका छन् । जनवरीमा मात्र ग्लोबल रिच, एइसिसी ग्लोबल, द नेक्स्ट, कंगारु एजुकेसनलगायतका शैक्षिक संस्थाहरूले अस्ट्रेलिया केन्द्रीत गरी मेला सम्पन्न गरेका छन् । अधिकांश कन्सल्टेन्सीले अस्ट्रेलियाका दर्जनौ विश्वविद्यालय–कलेजका प्रतिनिधिको सहभागितामा यस्तो मेला सम्पन्न गरेको दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस