काठमाडौँ । छैटौँ संस्करणको झापा गोल्ड कपको उपाधिका लागि आज गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा-११ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यता,पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पहिलो पटक गोल्ड कपमा सहभागी भएको हो । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागीतामै फाइनलमा पुग्न सफल भएको छ ।
प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।







