काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सिंहदरवारमा करिब ४५ मिनेट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका सम्बन्धमा र अन्य विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्नेमा छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने गरी ‘प्रचण्ड’ले जोड दिइरहेका बेला रेशम चौधरीले ती विधेयकमा थारु र मधेस आन्दोलनका विषय समेट्न आग्रह गरेका हुन् ।
त्यस बाहेक लाल आयोगको प्रतिवेदन, भूमिहीन जनतालाई लालपुर्जा दिन ढिलाइ भएको विषय, देशभरिका कृषियोग्य जमिन लिजमा दिने व्यवस्था गर्न र टिकापुर विमानस्थलका विषयमा छलफल भएको थियो ।
धावनमार्ग छोटो रहेको भन्दै विमानस्थल सुरु गर्न नसकिने गलत सूचना प्रधानमन्त्रीलाई गराइएको भन्दै उनले त्यस विषयमा प्रस्ट पारेको छन् ।
यस विषयमा प्रधानमन्त्री सकारात्मक रहेको चौधरीको भनाइ छ ।
टिकापुर घटना पनि सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यस विषयमा अर्को गठबन्धनको बैठकमा छलफल गर्ने र त्यो बैठकमा आफूलाई पनि बस्न भनिएको बताइएको छ ।
०७३ साउन २१ मा पुष्पकमल दाहाल नेतृत्व मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
आयोगले १४ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । तराई-मधेसका १९ जिल्लाबाट संकलन गरिएका ३ हजार २ सय ५४ वटा उजुरीको अध्ययन अनुसन्धानपछि प्रतिवेदन तयार भएको थियो ।
प्रतिवेदनअनुसार सरकारविरुद्ध १ हजार ९ सय ३८ र आन्दोलनकारीको विरोधमा १ हजार ३ सय २६ उजुरी परेका थिए । अहिले सम्म पनि उक्त आयोगले तयार परेको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन ।