काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा विधेयकबारे वाम गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् ।
शुक्रबार दिउँसो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधानमा एकल संक्रमणीय कि बहुमतीय भन्ने बारेमा केही उल्लेख नभएका कारण वर्तमान अवस्थामा विवाद सिर्जना भएको बताए । प्रचण्डले विवादको समधानका लागि वाम गठबन्धनभित्र छलफल गरेर साझा धारणा बनाइने बताए ।
पचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् ।
उनले पार्टी एकताको प्रक्रिया छिट्टै अगाडि बढ्ने बताए । उनले एकताका लागि एमाले र माओवादी केन्द्र बीचमा कुनै समस्या नरहेको प्रस्ट पारे । ‘हाम्रा केही समझदारी छन्’ प्रचण्डे भने, ‘ हामी समझदारीका साथ अघि बढ्छौं।’
उनले प्रधानमन्त्रीले आज बिहान डाकेको पाँच दलको बैठकमा कुनै सहमति नभएपनि छलफल सकरात्मक भएको बताए ।