प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र पूर्वउपप्रमुख पाए सफाइ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र पूर्वउपप्रमुख पाए सफाइ


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । विशेष अदालतले विराटनगर महानगरपालिकाकी पूर्वउपप्रमुख इन्दिरा कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र सहरी विकास महाशाखाका इन्जिनियर गोपाल पोखरेललगायत सबै आरोपीलाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विराटनगर-१५ मा पोखरी निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी रकम भुक्तानी गरेर नापी किताबमा चढाएर भ्रष्टाचार गरेको दाबी गर्दै १० लाख ५५ हजार ९७९ रुपैयाँ बिगो तोकेर मुद्दा दायर गरेको थियो । अख्तियारले दर्ता गरेको उक्त मुद्दालाई विशेष अदालतले किनारा लगाउने क्रममा दाबी पुष्टि हुने आधार नभएको भन्दै विपक्ष सबैलाई निर्दोष ठहर गरेको हो ।

अख्तियारले मेसिनबाट भएको कामको भुक्तानी ज्यालादारी मजदुरबाट गरेर रकम हिनामिना गरेको पनि मागदाबी गरेको थियो ।

अख्तियारको मुद्दाका कारण सहसचिवमा बढुवा हुने तयारीमा रहेका तत्कालीन प्रशासकीय अधिकृत अधिकारी निलम्बनमा परेका थिए भने प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेकी पूर्वउपप्रमुख कार्की गएको प्रदेशसभा निर्वाचनमा भाग लिनबाट वञ्चित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस