काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताए ।
उनले भने, ‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै अहिले शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ । त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’