घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए १ हजार जरिवाना! « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए १ हजार जरिवाना!


२३ आश्विन २०८०, मंगलबार


गण्डकी । घरपालुवा कुकुरलाई जथाभाबी दिशा–पिसाब गराउने कुकुर धनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ।

सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहर मैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताए।

‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ,’ उनले भने, ’यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ।’

कुनै कुकुर धनीले सार्वजनिकस्थलमा लगेर कुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरे। ‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ,’ उनले भने, ‘एकपटकका लागि १ हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ।’

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुर धनीलाई सचेत गराएको छ। खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरे। उनले घरमा पालिरहेको कुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेकासमेत कारबाही हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस