काठमाडौँ। ललितपुर महानगरपालिकाका मुख्य-मुख्य १२ वटा चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ । ललितपुर महानगरले ‘उज्यालो शहर अभियान’ अन्तर्गत शहरका मुख्य चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरेको हो।
महानगरका अनुसार चालु आर्थिक वर्षमा महानगरभित्रका सडक र गल्लीमा बत्तीहरू राख्ने योजना अनुरूप धमाधम बत्तीहरू राख्ने काम भइरहेको हो ।
आइतबार साँझदेखि पुल्चोक, जावलाखेल, बुङमती, कुपण्डोलस्थित बागमती पुल, शंखपार्क, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, गणेशमानपार्क लगायतका स्थानमा बत्ती बल्न थालेको हो ।
ललितपुरका अधिकांश सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट र मुख्य चोकहरूमा हाइमास्ट लाइट जडान गरिएको महानगरले जनाएको छ ।
यसअघि महानगरले चक्रपथ बाहिरका वडाहरूमा १४ सय बत्ती जडान गरिसकेको छ । ललितपुर महानगरको ‘कोर एरिया’ मा दुई वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको थियो । महानगरभित्रका तीन वटा रुटमा जम्मा ६६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भइसकेका छन् ।
बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक, मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेको छ ।







