मनाङे पनि उम्मेदवारमा सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मनाङे पनि उम्मेदवारमा सिफारिस


२६ आश्विन २०७४, बिहिबार


काठमाडौं । गुन्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन् । माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्रायः काठमाडौं बस्छन् ।

स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रूपमा मनाङ आउजाउ गर्दै स्थानीयको घरदैलो गरिरहेका छन् । यसअघि राप्रपामा रहेका उनी स्थानीय तह चुनावमा राप्रपाकै प्रचारमा मनाङमा खटिएका थिए । राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका उनी उक्त पार्टीको जिल्ला कार्य समितिका सबै पदाधिकारीसहित साताअघि मात्रै एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अगावै प्रहरी परिसर काठमाडौंले उपत्यकाको शान्ति सुरक्षा बलियो बनाउने भन्दै केही गुन्डा नाइके पक्राउ गरेको थियो । त्यसमा मनाङे पनि थिए । चुनावको वातावरण बिथोल्न सक्ने भन्दै पक्राउ गरेपछि सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको थियो । स्थानीय तहको चुनाव सकिएको ५ महिना नबित्दै उनै उम्मेदवार सिफारिस भएका हुन् ।

प्रहरीले मनाङे र उनको समूहलाई काठमाडौंमा पटकपटक अनुसन्धानको दायरामा खिच्थ्यो । काठमाडौं प्रहरी परिसर प्रमुख भएका बेला रमेश खरेलले पनि मनाङेलाई अवैध असुली र गुन्डागर्दी आरोपमा पक्राउ गरेका थिए । गत पुसमा दलबलसहित राप्रपा प्रवेश गरेका मनाङे पछिल्ला दिनमा एमालेनिकट देखिएका थिए । राप्रपा प्रवेश गर्नुअघि भने उनी नेपाली कांग्रेसबाट सक्रिय राजनीतिमा थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस