काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् ।
आइतबार सिंहदरवारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।
उनले त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरूसँग सुझाव पनि लिएका थिए । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरूले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताए ।
‘विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरूको सुझाव परराष्ट्रमन्त्रीहरुले लिँदै हुनुहुन्छ’, छलफलबाट बाहिरिने क्रममा उनले भने ।
पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काका अनुसार भारत भ्रमणप्रति प्रधानमन्त्री धेरै आशावादी देखिएका छन् ।
छलफलमा सहभागी नेताहरुले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । त्यस्तै राष्ट्रिय हितलाई सर्वोपरि राखेर आत्मविश्वासका साथ भ्रमण पूरा गर्न सुझाव दिएको डा. खड्काले बताए ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालसँग भएको प्रमाणका आधारमा सीमा समस्याका बारेमा प्रस्ट धारणा राख्न सुझाव दिएको बताए ।