काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार)बस्दै छ । बैठक अपराह्न ४ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुनेछ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसदमा नीति तथा कार्यक्रम पेस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्का दुवै सदनमा छलफल भइरहेको छ ।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
आजको मन्त्रिपरिषद् बैठकमा उक्त विषयमा पनि छलफल हुने बुझिएको छ । प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)को वार्षिक साधारण सभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।