एकै पटक तार व्यवस्थापन गर्न सकिँदैन : दूरसञ्चार प्राधिकरण « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एकै पटक तार व्यवस्थापन गर्न सकिँदैन : दूरसञ्चार प्राधिकरण


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न नसकिने बताएको छ ।

काठमाडौँ महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थित गर्न अल्टिमेटम दिएपछि प्राधिकरणले सूचना जारी गर्दै यस्तो बताएको हो । प्राधिकरणले काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाइ हुने जनाएको छ ।

प्राधिकरणले अहिले तार व्यवस्थापनका लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्थापन गर्न कानुन निर्माण भइरहेको जनाएको छ ।

महानगरपालिका, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र प्राधिकरणसमेतको सहकार्यमा सिंहदरबार वरिपरि, पुतली सडक, कमलादी, ठमेल, एयरपोर्ट माइतीघरलगायत पाटन दरबार क्षेत्रमा प्रयोगमा नरहेका तार हटाइ बंडलिंग गरिएको समेत प्राधिकरणले जानकारी गराएको छ ।

यसका साथै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस