विदेशबाट आयात हुँदा बिकेन नेपाली मह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विदेशबाट आयात हुँदा बिकेन नेपाली मह


१४ चैत्र २०७९, मंगलबार


भरतपुर । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग गरेका हुन्।

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डारका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि मह बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको दाबी गरे। भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ।

नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ। नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ। नेपालमा वार्षिक ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा १६ करोड ८१ लाख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

नेपाल मौरीपालन महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए। उहाँले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे। उनका अनुसार पछिल्लो चार महिनामा २०० मेट्रिक टन मह आयात भएको छ।

मौरी विज्ञ डा.शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको धारणा राखे। मौरी र पर्यावरण विषयमा कार्यपत्र पेश गर्दै उनले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे।

Tags :
प्रतिक्रिया दिनुहोस