भारतलाई हराउँदै नेपाल फाइनलमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भारतलाई हराउँदै नेपाल फाइनलमा


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

मङ्गलवार बाङ्लादेशको राजधानी ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई  ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

खेलको पहिलो हाफमा नेपाल १-० गोलले पछि परेको थियो। खेलको २१औं मिनेटमा अपूर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। तर‚ दोस्रो हाफको सुरुमै नेपालले एक गोल फर्काएर खेललाई बराबरीमा पुर्‍याएको थियो। दोस्रो हाफको तेस्रो मिनेटमा अञ्जलि चन्दले गोल गरेकी थिइन्।

६९औं मिनेटमा कप्तान प्रीति राईले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २-१ गोलले अग्रता दिलाएकी थिइन्। नेपालका लागि तेस्रो गोल खेल सकिन एक मिनेट रहँदा अमिषा कार्कीले गरिन्। 

जितसँगै नेपालले ६ अङ्क जोडेको छ। फाइनल खेल्ने टोलीको टुङ्गो आजै हुने बङ्गलादेश र भुटानको खेलपछि लाग्नेछ। 

अन्तिम खेलपछि भारतको ४ अङ्क भएको छ। भुटानसँग खेल्नुअघि बाङ्लादेशको पनि ४ अङ्क छ। बाङ्लादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। भारतले बाङ्लादेशको हारको कामना गर्नुपर्नेछ। 

यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बाङ्लादेशले ३-१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४-० को जित निकालेको थियो। प्रतियोगितामा बङ्गलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस