काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्त्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीको बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्त्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’
प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए। उनले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु।’
प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरे।