काठमाडौँ। निवर्तमान प्रदेश सांसद तथा नेकपा एमालेका नेता किशोरी साहले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । चुनावी तालमेलका क्रममा नेकपा एमालेले धनुषा क्षेत्र नं.१ (क) जसपालाई दिएपछि उनी रुष्ट भएका हुन् ।
उनले आफू पार्टी परित्यागको तयारीमा रहेको बताए । आफूले चुनाव जित्ने पक्का भए पनि टिकट नपाउने भएपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।
पार्टी परित्याग गरी स्वतन्त्र वा सीके राउत नेतृत्वको जनमत पार्टीबाट चुनाव लड्ने विषयमा समर्थकहरूसँग छलफल गरिरहेको बताए । जनमत पार्टीबाट चुनाव लड्नुपर्ने दबाबसमेत रहेको बताउँदै भोलि यस विषयमा निर्णय लिने जानकारी दिए ।
साहले धनुषा क्षेत्र नं.१ (क) बाट २०७४ को निर्वाचनमा जितेका थिए ।







