अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ


८ असार २०७९, बुधबार


पक्राउ

वीरगन्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगन्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगन्जबाट पक्राउ गरेको हो ।

ब्युरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगन्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

नाबालिकालाई अपहरण गरी जबरजस्ती गर्ने पक्राउ

एक नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् ।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबरजस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बिचौलिया रकमसहित पक्राउ

पर्साको वीरगन्जस्थित नापी कार्यालयमा बिचौलियाको काम गर्ने एक जनालाई प्रहरीले रु एक लाख २५ हजार रकमसहित पक्राउ गरेको छ ।

निजामती कर्मचारीको पोसाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएको आरोपमा वीरगन्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगन्जको आदर्शनगरस्थित एभरेस्ट बैङ्कभित्रबाट सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस