तारा एयर दुर्घटनामा परेका सबैको शव भेटियो, थप १२ शव आजै काठमाडौँ ल्याइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तारा एयर दुर्घटनामा परेका सबैको शव भेटियो, थप १२ शव आजै काठमाडौँ ल्याइने


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।

दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी छ।

‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौँ लगियो। अब थप १२ शव आज काठमाडौँ पठाउने तयारी छ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले भने।

दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको उनले बताए।

दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहान मात्रै फेला परेको थियो।

सोमबार काठमाडौँ ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस