राजधानीको ध्यान तानेको फुच्चे स्वतन्त्र उम्मेदवार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राजधानीको ध्यान तानेको फुच्चे स्वतन्त्र उम्मेदवार


२० बैशाख २०७९, मंगलबार


वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावले राजनीतिक माहौल तातेको छ । ५ वर्षमा १ पटक आउने चुनाव अनि विभिन्न पदमा उम्मेदवारी दिएका १ लाख भन्दा धेरै उम्मेदवारका कारण आम मान्छेको चासोमा वृद्धि हुनु स्वाभाविक नै देखिन्छ । अझ राजधानी काठमाडौँ र यस मध्ये पनि सबै भन्दा महत्त्वपूर्ण काठमाडौँ महानगरमा सबैको नजर अडिएको छ ।

मुख्य राजनीतिक दलले यस महानगरमा विजयी हुनुलाई प्रतिष्ठाको विषय बनाउनु र सबै किसिमका सञ्चार माध्यममा यहाँको चुनावी सरगर्मीले महत्त्व पाउनुले पनि यस क्षेत्रको महत्त्व बुझ्न सकिन्छ । चुनावमा कसको हार वा जीत हुने हो त्यो त मत परिणाम आए पछि मात्र थाहा होला । तर हाल एक स्वतन्त्र उम्मेदवारको विशेष चर्चा भइरहेको छ । यस लेखमार्फत सोही स्वतन्त्र उम्मेदवारको चर्चाको बारेमा एक आम मान्छेका हिसाबले केही विषय समेट्ने प्रयास गरेको छु ।

नेपालमा व्यक्तिभन्दा पार्टी हाबी हुने र पार्टीहरूको सङ्गठनले चुनावमा विजयी हुन सहयोग गर्ने प्रचलन रहेको छ । अझ विदेशमा जस्तो विभिन्न मुद्दाहरूमा खुल्ला बहस नहुने र व्यक्तिको क्षमताले धेरै महत्त्व नपाउने परिपाटी रहेको देखिन्छ । अझ मुख्यतया ग्रामीण र दुर्गम क्षेत्रमा त अशिक्षा र गरिबीका कारण विभिन्न प्रलोभनमा परि मतदाताले मत दिने गरेको देखिन्छ । यस्तो अवस्थामा देशको राजधानीमै पनि मुख्य राजनीतिक दलका उम्मेदवार नै हाबी भई आएको इतिहास छ ।

यसका साथै हाम्रो राजनीतिक प्रणालीका कारण युवा उम्मेदवारहरूले पार्टी र मूल राजनीतिमा कम अवसर पाएको अवस्था छ । नेपालमा विगत लामो समयदेखि विभिन्न राजनीतिक उपलब्धि हासिल गर्नका लागि आन्दोलनहरू भएको र विकासका नाराले खासै महत्त्व नपाएको अवस्था थियो । हाल केही न कहीँ मात्रामा विकासका विषयले महत्त्व पाउने गरेको छ । तर धेरै उम्मेदवारसँग पार्टी पङ्क्तिमा कसरी अगाडी बढ्ने, आफ्ना माथिका नेतालाई कसरी रिझाउने, जनताबाट मत कसरी लिने भन्ने विषयको अनुभव भएता पनि देशको दिगो विकास र आर्थिक समुन्नतिका लागि आवश्यक योजना तर्जुमामा भने कमजोरी रहेको देखिन्छ ।

अझ नेपाल जस्तो देशमा पुँजीको सही सदुपयोग र दूरगामी महत्त्वका योजनाले स्थान पाउनुपर्नेमा नेतृत्वकर्ताको कमजोरीले सो हुन नसकिरहेको अवस्था छ । अझ एक उम्मेदवारले अर्को उम्मेदवारलाई आरोप-प्रत्यारोपमा मात्र समय खर्चिने, आफ्ना योजना जनतामाझ राख्नमा महत्त्व नदिने र केही गर्छु भनेर आफ्नो विचार राखेता पनि कसरी सो योजनाहरू अगाडी बढाउने भन्ने ज्ञान नहुने गरेको देखिन्छ । यस्तो परिस्थितिमा मुख्यतः सहरी क्षेत्रका आम मान्छेहरू राजनीतिक प्रणाली, उम्मेदवारको चालचलन, दिशाहीन गतिविधिले दिक्क भएको स्थिति छ । यसमा पनि मुख्यतः युवा जमातले आफ्ना उम्मेदवारबाट स्पष्ट धारणा खोज्ने र मूल प्रवाहको राजनीतिभन्दा माथि उठेर आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने उम्मेदवार खोजिरहेको देखिन्छ ।

कुनैपनि राजनीतिक दलले काठमाडौँ महानगर जस्तो आफ्नो प्रतिष्ठा जोडिएको स्थानीय निकायमा जीत हात पार्नका लागि पूर्णरुपमा प्रयास गर्नु स्वाभाविक हो । अझ आफ्नो पार्टीको जित होस् भनी सक्षम उम्मेदवार उठाउनु पनि स्वाभाविक हो । तसर्थ हरेक उम्मेदवार आ-आफ्नो हिसाबले केही खुबी भएकै छन् भन्नुपर्छ । तर हाल आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका इन्जिनियर बालेन शाहको विशेष चर्चा छ । चर्चा हुनुको कारण राजनीतिक आस्था भन्दा पनि उनले अगाडी सारेका विषय र योजना हुन् । उनले अगाडी सारेका विषय सही छन् वा गलत, अझ चुनाव जिते भने सो योजनाहरू कसरी अगाडी बढाउँछन् वा चुनाव हारे भने कसरी अगाडी बढ्छन् त्यो भविष्यले देखाउला । तर आरोप प्रत्यारोपको राजनीतिबाट आजित भएका आम मान्छेले एउटा मेयरले गर्न सक्ने वा गर्नुपर्ने कामका विषयमा केही कुरा जान्ने सुन्ने र आफ्नो धारणा राख्ने मौका पाएका छन् ।

यसले नेपालको आगामी राजनीतिक गन्तव्यमा पनि मूल राजनीतिक दललाई केही सिक्ने मौका दिनेछ भन्ने लाग्छ । त्यो भनेको देशको राजनीतिक परिवर्तनका लागि लडेका, पार्टीको सङ्गठन विस्तारमा लागेका, राजनीतिमै आफ्नो जिन्दगी बिताएका व्यक्तिहरू जति पार्टी राजनीति र राजनीतिक आन्दोलनका लागि उपयुक्त हुन्छन् । सोही मात्रामा आर्थिक रूपान्तरणका लागि योग्य नहुन सक्छन् भन्ने हो । देशको महानगरमा हाल भइरहेको चर्चाले आगामी दिनमा अन्य क्षेत्रमा उम्मेदवारहरू बिच राजनीतिक मात्र नभई बौद्धिक लडाइँ चलाउन मद्दत गर्न सक्छ । अझ आम मान्छेमा चेतनाको विकास, सामाजिक सञ्जाल र सञ्चार जगतको पहुँचले पनि आगामी दिनमा मतदाताले आफ्ना उम्मेदवारबाट खोक्रा राजनीतिक गफ र आरोप प्रत्यारोप भन्दा विकास, निर्माण र योजनाका विषय सो पूरा गर्ने कार्य योजना सुन्न खोज्ने देखिन्छ ।

काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले चर्चा पाउनु भनेको सबै युवा वर्गका लागि खुसीको विषय हो । उनीसँग तल्लो तप्कासम्म सङ्गठन नभएता पनि आफ्ना योजना र सो योजना पूरा गर्न सक्ने ठोस कार्यक्रमको प्रस्तुतिबाट आम मान्छेले समर्थन गर्नु भनेको राजनीतिक चेतनामा परिवर्तनको सङ्केत पनि हो । हाल आमनागरिकहरु मूल राजनीतिक दलसँग र ती दलले राजनीतिक खिचातानीमा मात्र सीमित राख्ने बहस बाट खुसी छैनन् भन्ने पनि हो । अझ हाल आम नागरिक तहमा राजनीतिक दलहरूप्रति वितृष्णा बढी रहेको देखिन्छ ।

आफ्नो जीवनको महत्त्वपूर्ण समय राजनीतिक आन्दोलनमा बिताएका, जेल–नेल खाएका नेताहरूको देशले प्राप्त गरेका राजनीतिक उपलब्धिमा आफ्नै महत्त्व होला । तर सोही उपलब्धिका आधारमा देशले तय गर्नुपर्ने विकासको बाटोमा पनि नेतृत्व लिन खोज्नु सही नहुन सक्छ । राजनीति सधैँ आरोप प्रत्यारोपले मात्र चल्दैन, सधैँ विरोधले मात्र चल्दैन । हालको युवा वर्गले ठोस योजना र मुलुकको आर्थिक परिवर्तन सम्बन्धी बहस रुचाउन थालेका छन् । बहस मात्र होइन देश रूपान्तरणको ठोस खाका र सो का लागि आवश्यक दक्ष जनशक्ति पनि हालको आवश्यकता हो ।

केवल चिल्ला गफले मात्र अब नपुग्न सक्छ । जनता यस अघि विभिन्न आन्दोलनका नाममा ठगिएका छन् । देश पछाडि परेको छ । त्यसैले हरेक स्थानीय तहमा धेरै “बालेन”हरू अगाडी आउन जरुरी छ । त्यसबाट राजनीतिक दलको कार्यशैलीमा केही न केही मात्रामा परिवर्तन ल्याउन सक्नेछ । काम गर्न उमेरले छेक्दैन तर काम गर्न आवश्यक ज्ञान र विवेक भने हुनुपर्दछ ।

सबै युवाले केही राम्रो गर्न सक्छन् भन्ने छैन । तर पढेकाले राजनीति नगर्ने, अनि कमजोर धरातलमा अडिएका व्यक्तिले देश चलाउने हो भने त्यो राम्रो सङ्केत होइन । तसर्थ सामान्य भन्दा सामान्य कामका लागि पनि सोही बमोजिमको योग्यता आवश्यक पर्नेमा राजनीति भनेको अझ उँचो किसिमको योग्यता आवश्यक पर्ने क्षेत्र रहेकाले धेरै क्षेत्रबाट योग्य व्यक्तिहरू अगाडी आउन जरुरी छ । आशा छ ती उम्मेदवारहरूको पनि हालको स्वतन्त्र फुच्चे उम्मेदवार जस्तै चर्चा हुनेछ र आम मान्छेको सो उम्मेदवारमा आशा पनि उस्तै हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस