इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण


२२ चैत्र २०७८, मंगलबार


मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण सुरु गरेको छ ।

वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडी र गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले सोमबार एक कार्यक्रमका बिच संयुक्तरुपमा निस्सा वितरण सुरु गरेका हुन् ।

राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य लामिछानेले लालपुर्जा पाउनेमा ढुक्क हुन सबैमा आग्रह गरे । उनले भने, ‘लालपुर्जा पाउनेमा तपाईँहरू ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसँग समन्वय गरी जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडि बढाउने छौँ ।’

सो कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार २० जनालाई निस्सा वितरण गरिएको छ । निस्सा पाएपछि स्थानीयवासी खुसी भएका छन् । निस्सा पाएपछि चाँडै लालपुर्जा पाउने आशा व्यक्त गर्दै उपस्थित भूमि आयोगका सदस्य र जनप्रतिनिधि कर्मचारीहरूलाई धन्यवाद दिए ।

गाउँपालिका कार्यालय सेवा केन्द्र प्रमुख हरि देवकोटाका अनुसार इच्छा कामनामा जग्गाका लागि तीन हजार ३८९ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नं ७ मा सबैभन्दा बढी एक हजार ५१० भूमिहीन दलित र सुकुम्वासी रहेका छन् । वडा नं ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न भएसँगै निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाइ छ । अन्य वडाको पनि भूमि आयोगको अनलाइन प्रणालीमा निवेदन प्रविष्ट गर्ने कार्य भइरहेकाले चाँडै निस्सा वितरण गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस