इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।
सुनसरीको सदरमुकाम इनरुवामा आज कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताएका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुन्छ बताए । उनले भने, ‘विगतका कमीकमजोरीलाई सच्याउँदै साथीहरूसँगको सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन हुन्छ ।’
मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र समाजको रूपान्तरण हुन नसक्ने उल्लेख गर्दै अहिले मुलुकको आवश्यकता विकास निर्माण, सुशासन, कानुनी शासनको प्रत्याभूति हो, त्यसका लागि गठबन्धन निर्माण भएको बताए ।
उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । मन्त्री कार्कीले भने, ‘स्थानीय तहको निर्वाचन वैशाख ३० गते शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित किसिमले उत्साहपूर्ण रूपमा सम्पन्न हुन्छ ।’