काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति रहने कि नरहने भन्ने विषयमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दामाथि बुधवार नै सर्वोच्च अदालतको फैसला आउँदै छ ।
प्रधानन्यायाधीशले संवैधानिक इजलासको गठन गर्न नपाउने भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले दिएको निवेदनमाथि बुधवार संवैधानिक इजलासमा बहस भएको हो । यस क्रममा अधिवक्ता गणेश रेग्मीले भने संवैधानिक इजलासको नेतृत्वमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने भन्दै निवेदन दिएका थिए ।
सोही मुद्दामाथि सर्वोच्चमा बुधवार बहस सकिएको छ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, तुलसी भट्ट र रविनारायण खनालले एमिकस क्युरीका रूपमा बहस गरेका थिए । बहसको क्रममा उनीहरूले प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन गर्न नहुने बताएका थिए ।
यसअघि विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएका ५२ पदाधिकारीको नियुक्ति खारेजी गर्नुपर्ने माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेललगायतले दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो ।