काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको जगदम्बा स्पिनिङ मिल्समा विद्युतीय सर्ट सर्किट भई बुधवार बिहान ३ बजे आगलागी हुँदा उद्योगको टिएफओ मेसिन, विद्युत् प्यानेल, विद्युतीय तारहरू नष्ट भएको छ। तीन सय करोड लगानी भएको उक्त मिल्समा झन्डै चार करोड बराबरको नोक्सानी भएको कम्पनीले जनाएको छ।
आगलागी हुँदा उद्योगमा कार्यरत छ सय ५० भन्दा बढी कामदार तथा कर्मचारीबिच भाग दौड भएको थियो। जसमा पाँच जना कर्मचारी सामान्य घाइते भएका छन्।
उद्योग भित्रै रहेको आगो निभाउने संयन्त्र, सिद्धार्थ नगरपालिका र लुम्बिनी संस्कृति नगरपालिकाबाट आएको दुई वटा दमकलको मद्दतमा समयमै आगो निभाइएको थियो। उक्त कार्यमा इलाका प्रहरी कार्यालय बेथरीबाट पनि आगो निभाउने काममा ठुलो सहयोग प्राप्त भएको कम्पनीले जनाएको छ।