काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोचविचार गर्दै उत्तेजित नभईकन निर्णय लिने बताएका छन् ।
नयाँ बानेश्वरस्थित ल्होत्से भवनमा भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमाले सांसदहरूको धारणा सुनेपछि उक्त प्रतिक्रिया दिएका हुन् ।
‘अहिलेको परिस्थिति गम्भीर र अप्ठ्यारो छ बिना उत्तेजना केही नगरीकन वस्तुगत भएर सोच्छौँ र छलफल गरेर निर्णय गर्छौँ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले भने ।
बैठकमा भुसालले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयलाई बोकेर चुनावमा जान नसकिने बताएका थिए । साथै यी दुई मुद्दा बोकेर चुनावमा जानु राजनीतिक रुपमा गम्भीर गल्ती हुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले भने भुसाललाई जवाफ दिँदै गम्भीर परिस्थिति रहेकोले उत्तेजित नभईकन निर्णय लिनुपर्ने बताएका थिए । सचिवालयले यसबारे निर्णय गर्ने उनको भनाइ थियो ।
आज सोमबार बिहान ११ बजेपछि बानेश्वरमा सुरु भएको संसदीय दलको बैठक जारी छ । अहिले बैठकमा सांसदहरू बोल्ने क्रम जारी छ ।