प्रदेश नं २ सरकारमा सहभागी नेकपा (एस) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश नं २ सरकारमा सहभागी नेकपा (एस)


५ मंसिर २०७८, आइतबार


धनुषा । प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन् । नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिकरुपमा कार्यभार सम्हालेका छन् ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुङ्गो नलाग्दा लम्बिएको थियो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमन्त्री राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।

नवनियुक्त मन्त्रीमा धनुषा निर्वाचन क्षेत्र नं ४ (ख) बाट निर्वाचित महतो संविधानसभाका बेला सङ्घीय सरकारमा स्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए । सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभा सदस्य जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाएका हुन् । प्रदेशसभामा नेकपा (एस)का १३ सदस्य छन् ।

केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा (एस)लाई सहभागी गराइएको हो । प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी चार मन्त्रालय, काँग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन् । नेकपा (एस)लाई पनि भागबन्डामै दुई मन्त्रालय दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस