काठमाडौँ । आजबाट कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ ।
हिजोसम्म उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखाका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताइएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्नेछन् ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकी गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात् २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।