मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उनले सोमबार पेस गरेका हुन् ।
राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहेका डुटेर्टेले आफ्ना वकिलहरु मार्फत उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम दिन उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अहिले ७६ वर्ष पुगेको डुटेर्टेले पीडीडीएस पार्टीको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपति डुटेर्टेले अघिल्लो हप्ता सक्रिय राजनीतिबाट आफूले बिदा लिन लागेको सार्वजनिक रुपमा घोषणा गरेका थिए ।
उनले आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिएर प्रतिस्पर्धा नगर्ने दाबीसमेत गरेका थिए ।
उनी यसअघि सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। त्यो कार्यकाल आगामी सन् २०२२ को जुन ३० मा सकिन लागेको छ ।
फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई फिलिपिन्सको राष्ट्रपतिमा ६ वर्षे एक कार्यकाल मात्रै जिम्मेदवारी लिन पाउने व्यवस्था गरेको छ ।
नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा आगामी सन् २०२२ को मे ९ तारिखमा निर्वाचन हुन लागेको छ ।