काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले यस प्रक्रियाका लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् ।
सरकारले खुला विश्वविद्यालय पूर्व उपकुलपति लेखनाथ शर्मा र प्राध्यापक मिना गुरुङ सदस्य रहेको उक्त समितिको सिफारिसका आधारमा बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
समितिले गरेको सिफारिसका आधारमा सरकारले अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेकाले प्रक्रिया सुरु भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।
चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल गत असोजमा सकिएको थियो । अध्यक्षले बोर्डमा पूर्णकालीन रूपमा कार्यकारी भूमिकामा काम गर्ने व्यवस्था रहेको छ ।