जनकपुरधाम। नेपालबाट लागूऔषध गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
टाउकोमा पोका बनाएर सदरमुकाम मलगंवाबाट भारतको सोनबर्षातर्फ लैजाँदै गर्दा शनिबार राति खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सोनबर्षा ३ का २१ बर्षीय धर्मेन्द्र मण्डल र वडा नम्बर १ का १९ बर्षीय भोला कुमार साह छन् । उनीहरुले बोकेको पोकाबाट ७० किलो गाँजा बरामद भएको हो ।
दुबैबिरुद्ध लागूऔषध गाँजा सम्बन्धी कसुर मुद्दा दर्ता गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।