संघीय संसदको दुवै सदनको बैठक आज बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

संघीय संसदको दुवै सदनको बैठक आज बस्दै


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आज (सोमबार) बोलाइएको छ।

दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा पढेर सुनाउने संसद् सचिवालयले जनाएको छ। बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेस गर्ने सम्भावना रहे पनि कार्यसूचीमा राखिएको छैन।

हिजो (आइतबार) बसेको सत्ता गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने सहमति गरेको थियो।

यस्तै‚ राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्दै छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सचिवालयका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस