जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा कार्यरत कर्मचारी हटाएको छ। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका एक सय ५१ जना कर्मचारीलाई हटाइएको हो।
नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाद्वारा हस्ताक्षरित एक सूचनामा भनिएको छ, ‘जयनगर–जनकपुरधाम रेल्वे कानुनी तथा प्राविधिक कारणले रेल सञ्चालनको लागि केही समय लाग्छ, तर तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएको व्यक्तिहरू आफू खुसी हाजिरको आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने भएकोले हाजिर नगर्न सचेत गराइएको छ, साथै सूचनाको उल्लङ्घन गरी हाजिर गरे त्यसको जिम्मेवारी नेपाल रेल्वे कम्पनी लिमिटेडले नलिन आग्रह गर्दछ।’
ओली नेतृत्वको सरकारद्वारा नियुक्त महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरेको आरोपसँगै रेल चल्ने टुङ्गो नभएको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोधेकोमा उनले स्पष्टीकरणको जवाफ नदिई राजीनामा बुझाए।
भट्टराईको राजीनामासँगै नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालनिकट झालाई सरकारले रेल्वेको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।