काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकताका नाममा पार्टीका काम रोक्न नसकिने बताएका छन् । माधवकुमार नेपाल पक्षले पार्टीका सबै काम रोकेर एकताको वातावरण बनाउन भनिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टी गतिविधि रोक्न नसकिने जवाफ दिएको हो ।
मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेको जानकारी गराउदै पार्टीका प्रवक्ता ज्ञवालीले पार्टी एकताको नाममा पार्टीको कुनैपनि गतिविधि रोक्न नसकिने बताएका हुन् ।
एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णयप्रति माफी माग्नुपर्ने लगायतका प्रस्तावबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले टिप्पणी गर्न नचाहेको बताए। उनले अनन्तकालसम्म पार्टीका गतिविधिलाई अवरुद्ध गरेर जान नसकिने पनि स्पष्ट गरे ।
बिहीबारदेखि काठमाडौँमा जारी नेता नेपाल पक्षको केन्द्रीय सदस्यको बैठकले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका थिए । नेता रघुजी पन्तले गत असार २७ गते विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको आधार र नेताबीचको लगातारको पहलका आधारमा एकता हुनुपर्ने तर शीर्ष नेतामाथिको लाञ्छना युक्त अभिव्यक्ति बन्द हुनुपर्ने बताए ।