सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले कोभिड संकट कायमै रहेको भन्दै निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘पछिलो समय जिल्लामा कोरोना संक्रमितको दर स्थिर छ, अझैपनि जोखिम कायमै छ, पहिलेको भन्दा केही खुकुलो बनाएर साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ,’ प्रजिअ रिजालले भने ।
प्रजिअ रिजालका अनुसार कोभिड–१९ सम्वन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा सबै तहका परिक्षा सञ्चालन गर्न सकिने छ ।
तर, जनस्वास्थ्यविज्ञहरुले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले भीडभाड नगर्न भनिरहेका छन् । यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम झनै बढ्न सक्ने देखिन्छ ।
यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि २ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि साँझ ६ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।
सुर्खेतमा वैशाख १५ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो।