काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्वीप जारी गरेको हो ।
गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको छ ।