फैसलाले दलीय संरचना समाप्त भयो: अध्यक्ष ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फैसलाले दलीय संरचना समाप्त भयो: अध्यक्ष ओली


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताए । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताए ।

किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको छ भन्दै पूर्वप्रधानमन्त्री ओलीले आफूले पुनः जनादेशबाट सरकारको नेतृत्व गर्ने बताए । उनले सर्वोच्चको आदेशानुसार नै आफू अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बाढी र पहिरोबाट पीडितको क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरिएको छ । बैठकले यस्तै कोरोना भाइरसविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउनसमेत आग्रह गरेको छ । बैठकमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा भएको सरकारले गरेका कामबारे जानकारी गराएका थिए ।

प्रमुख सचेतक भट्टराईले केही समयदेखि पार्टीका सांसद असन्तुष्ट भएर बैठकमा अनुपस्थित रहँदै आएको प्रति बैठकले गम्भीरतापूर्वक लिएको र कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एक ढिक्का बनाउनुपर्नेमा जोड दिएको बताए ।

उनले असन्तुष्ट पक्षलाई समेटर अर्को बैठकमा उपस्थित गराइने प्रतिबद्धता व्यक्त गरे । उनले सर्वोच्च अदालतको फैसलाको जनस्तरसम्म भण्डाफोर अभियान सञ्चालन गरिने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस