पहाड उचाल्ने परेलाहरू « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पहाड उचाल्ने परेलाहरू


१५ फाल्गुन २०७७, शनिबार


वर्षौँ वर्ष
तिम्रा छायाँले तर्सियौँ हामी
मानौँ तिमी बाज थियौ
हामी प्वाँख नभएका चल्ला थियौँ
तिम्रा पखेटाका छायाँमा
हाम्रा क्याँकक्याँकहरू
तिम्रा लागि केवल
मनोरञ्जक सङ्गीतका धून हुन्थे ।

त्यो पहाडको उकालोमा
तिमी बिसौनीमा थियौ
हामी हातखुट्टाका नङ गाडेर
ढुंगेभीर उक्लन खोज्दा
तिमीले पल्टाएका ढुङ्गाले
थिचिएका
आलै छन् यी नङका घाउहरू ।

हामी बाख्रा थियौँ र तिमी बाघ
मुहानको पानी पिउँथ्यौ
आरोप लगाउँथ्यौ-
हामीले तल बसेर
माथिको मूल धमिल्याइ दियौँ ।

हरेक बिहानले घाम ब्याउँथ्यो
तर त्यो घाम हाम्रो थिएन
प्रत्येक घामको झुल्को
तिम्रै छानामा मात्र
पुस्तौँ टल्किरह्यो
पहाडको यस अँध्यारो खोँचमा
हाम्रा भागमा थिए
केवल ठिहिराउने सिरेटोहरू ।

टुकी तिम्रै घरमा बलिरह्यो
बिजुली तिम्रै कोठामा पोखियो
हाम्रा स्याउले छाप्रामा
पुत्पुताइरहे काँचा सिठाहरू
हाम्रा छानाको धुवाँकै पनि
विरोध गर्‍यौ तिमीले
र थुनायौ बनमाराको आरोपमा ।

मानौँ यो संसारको हाँसो तिम्रो पेवा हो
यी उब्जाउ पाटाहरूका लालपुर्जाहरू
तिमीले चितामा सँगै लैजाने छौ
तिम्रा सन्तानहरू बाबु-नानी हुन्
हाम्रा बच्चा केवल गोब्रेकीराहरू !?

हामी शीत निद्राबाट ब्युँझेका छौँ अब
ए पहाड! हामी उक्लँदै छौँ चुचुरोमा
फुटेका बुढी औँलाहरू
फाटेका पाइतालाहरू
रगतपच्छे किन नहोउन्
रोक्दैनौँ हामीले यो यात्रा
हाम्रा पाखुरीहरू पगालेर
सम्म्याउने छौँ त्यो चुच्चे थुम्को
र ठड्याउने छौँ खाँबाहरू
जहाँ
हाम्रो आफ्नै घाम हुनेछ
हाम्रा नानीहरूका आँखामा
उदाउने छ कलिलो सूर्य ।

अझै पनि
कसैले यी थुम्काहरू
मेरै हुन् भन्छ भने
भत्कने छ त्यो पहाड
र हामी सम्म्याउने छौँ सबै
धुलाम्मे आँखाका परेलीमा
हामीले कोरल्ने छौँ नयाँ जून
अब छिर्ने छैन त्यो जून
हाम्रो भत्केको छानाबाट
हाम्रो इज्जतको चियो गर्न
अब हाम्रा नानीहरू छानामै खेल्दै
हत्केलाले जूनको क्षेत्रफल नाप्नेछन् ।

त्यस बेला
नदीको बगरमा
तिमी थोत्रो लालपूर्जा
खोज्दै हुनेछौ
जतिबेला हामी
पसीनाका मोतीसँग
धर्तीको सुगन्ध साट्नेछौँ

भो कति ओढ्छौ ?
त्यो धुइँसो परेको
खानदानी बाघको छाला
मिल्काऊ अब त्यो
ब्वाँसाको देहबाट ।
अब त
गोब्रेकीराहरूको
मेटामोर्फोसिस भएको छ
तिनले चिन्नेछन्
आफ्ना पुर्खाका पसिनाको गन्ध
र खोज्नेछन्
मक्किएका हड्डीहरू
जो बिस्तारै,
दधिचिका हड्डी बन्नेछन्
बन्द गर तिम्रा आसुरी कृत्यहरू ।

Tags :
प्रतिक्रिया दिनुहोस