काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ ।
विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको ३ महिना (९० दिन) भित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो ।
आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।
योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म रि-ट्रायल दिन पाउने भएको छ।