मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिर खुल्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिर खुल्ने


३० कार्तिक २०७७, आइतबार


काठमाडौं । यस वर्षको भाइटीकाका लागि मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

२०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुन:निमार्णको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो ।

भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुन:निमार्ण सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुन:निमार्णको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवसर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताए । यो वर्ष मंसिरमा भाइटीका परेको छ । प्रमुख शाक्यले एक गते भाइटीका मान्नेहरुलाई एक गते र दुई गते मान्नेहरुका लागि दुई गते दर्शनको व्यवस्था गरिएको उनले बताए ।

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस