काठमाडौ । सरकारले तयारी मदिराको आयात खुला गरेको छ । करिब सात महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एबं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनको आयातसमेत खुला गर्ने निर्णय जानकारी दिए । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताए ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिति कम हुने भन्दै सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो ।
बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।







