काठमाडौँ । महोत्तरीको भंगहा नगरपालिका–९ का वडा सचिव पक्राउ परेका छन् । भंगहा–९ की ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय वडा सचिव मिथलेश यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार यादवलाई महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले प्रशासनलाई जानकारी दिए ।
गए राति पक्राउ गरिएका यादवलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण पनि गराइएको छ । स्वास्थ्य रिपोर्ट महिलाको जाहेरी र प्रहरी अनुसन्धान पछि कानुनी प्रक्रियामा जाने प्रहरी उपरीक्षक केसीको भनाइ छ । ‘आरोपित वडा सचिव यादवलाई हिरासतमा राखिएको छ, पीडित महिलाको जाहेरी आएपछि दर्ता गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउँछौँ’ उपरीक्षक केसीले भने ।