खोजी आऊ पहिले सरकारी जागिर… « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खोजी आऊ पहिले सरकारी जागिर…


२० भाद्र २०७७, शनिबार


“तिम्रो छ र के भर ?
खोजी आऊ पहिले सरकारी जागिर”

यी गीति हरफले कुनै बेला सरकारी जागिरप्रतिको जनविश्वास, महिमा र सम्मानलाई व्यक्त गरेको छ । यहाँ सरकारी सेवा र सरकारी जागिर भनेर सबै सार्वजनिक सेवामा कार्यरत निजामती, शिक्षक, प्रहरी, सेना, सरकारी प्रतिष्ठानलगायतका कर्मचारीलाई बुझ्नु जरुरी छ । माथि उल्लिखित गीतका हरफमा व्यक्त भएझैँ सरकारी जागिरेलाई आफ्नी छोरीको विवाह गरिदिन पाए ढुक्क हुने आमाबाबुको जस्तै अवस्था आजको सरकारी जागिरेको छैन । अपवाद बाहेक आम कर्मचारीको कथा व्यथा र अवस्थाको वास्तविक चित्रण गर्नु पर्दा आज सरकारी जागिरमा आकर्षण छैन । छोरी दिनुभन्दा अगाडि सरकारी जागिर खोजी आऊ भन्ने आमाबाबु आज आफ्नी छोरी माग्न आउने सरकारी जागिरेलाई पहिले सरकारी जागिर छोडी आऊ भन्नुपर्ने दिन आएको छ । यसको मुख्य दुइवटा कारणहरू छन् । पहिलो, भ्रष्टाचार नगर्ने सरकारी कर्मचारीलाई जीवनयापन असाध्यै कठिन बन्दै गएको छ, त्यस्ता जागिरेलाई किन छोरी दिनु ? अर्को, भ्रष्टाचार गरेर कमाउने जागिरेको जागिरको भर नहुनुको साथै सामाजिक प्रतिष्ठामा पनि क्रमशः धब्बा लाग्न थालेको महसुस गरिंदै छ । कतै ज्वाइँलाई भ्रष्टाचारको कसुर लागेमा समाजमा अनुहार देखाउन लाज हुन्छ । सरकारी जागिरप्रतिको जनआस्थालाई क्षयीकरण गराउने पहिलो काम अरू कसैले नभएर स्वयं जागिरदारहरूले गरेका हुन्‌ । यसका साथै सरकारले आफ्नो कर्मचारीलाई गुजारा धान्न पर्याप्त हुने आर्थिक सुविधा नदिएको कारण मन थाम्न नसक्नेहरू डुङडुङ्दी गन्हाउने अनियमितता र भ्रष्टाचारमा मुछिएको कारण कर्मचारीको मात्र हैन सरकारकै अनुहारमा धब्बा लागेको छ ।

तथापि सरकारी व्यवहार र मुलुकी प्रशासनलाई मुलुक र जनताको पक्षमा कामयाबी बनाउन सरकार र सरकारी कर्मचारी मात्र सच्चिएर पुग्दैन । नागरिक समाज पनि सच्चिनु पर्छ । तीन थरीको जोड बलले मात्र मुलुकको पक्षमा राम्रो काम गर्ने शक्ति प्राप्त हुन्छ । राज्यरूपि ओदानका तीन खुट्टाको उत्तिकै महत्त्व छ । नेपालको सन्दर्भमा नागरिक तहबाट हुने गरेको केही हर्कतहरू डरलाग्दा छन् । त्यस्तै घटना र व्यवहारहरूको देखासिकी र बढोत्तरी हुने हो भने नागरिक समाज उल्टो बाटोतिर डोरिने पक्का छ । आजभोलि जनता पनि आफ्नो नागरिक कर्तव्य बिर्सेर जथाभाबी अराजक तरिकाले प्रस्तुत हुन थालेका छन् । जुन कुरा एउटा सभ्य नागरिकलाई सुहाउँदैन ।

२०७२ सालको महाभूकम्पपश्चात् खास गरी राजधानी सहरका घरधनीहरूले भाडावालप्रति देखाएको दम्भ होस् वा यति बेला कोरोना महामारीमा कोरोना भाइरससँग अग्रपङ्क्तिमा बसेर लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अन्य सरकारी कर्मचारी लगायत भाडामा बस्नेहरूप्रति आफूलाई कथित टाठा बाठा भनाउँदा केही व्यक्ति र झुन्डहरूले कानुन हातमा लिएर गरेको अमानवीय हर्कत होस्‌ सर्वथा निन्दनीय छ । यति मात्र हैन कोरोनाबाट सङ्क्रमित छिमेकीहरूप्रति देखाइएको अछिमेकी अव्यवहार पनि उत्तिकै तुच्छ छ । आज मेडिकल साइन्सले भन्दैन कोरोनाबाट निको भएको व्यक्तिको शरीरमा एन्टीबडी पैदा भई त्यस्तो व्यक्तिको रगत अर्को कोरोनाको सिकिस्त बिरामीलाई प्लाज्मा थेरापीमार्फत उपचार गर्न सकिन्छ । भोलि ती अहङ्कारी छिमेकीहरूलाई पनि यो सरुवा रोग लागि हालेमा कसको रगतको अपेक्षा गर्नु अनि स्वास्थ्यकर्मीलाई छि छि दुरदुर गर्नेहरूले कहाँ गएर उपचार गराउनु सोच्नु पर्दैन ?

महाव्याधिको रागमा राजधानीका गगनचुम्बी महलहरू निर्माण गर्ने शिल्पी हातहरू यो सहरको बेहोरा देखेर अमिलो मन बनाएर १५ दिन पैदल हिँडेर आफ्नै थातथलोमा फर्केका छन् । सम्भवतः धेरैले अर्को पेसा बदल्नेछन् । धेरै फर्कने पनि छैनन् । रोग लाग्नु अपराध हैन, रोग सबैलाई लाग्न सक्छ । रोगीसँग सिधा संसर्ग नगर्दासम्म केही हुँदैन भन्ने वैज्ञानिक तथ्य र प्रमाणको खिल्ली उडाउँदै मानिसको भेषमा गरिएको यस्ता दानवीय व्यवहारले नागरिक समाजको गन्तव्य कता हो ? ठम्याउन मुस्किल हुँदै गएको छ ।

कर्मचारी पनि यही समाजको सदस्य हुन् उनीहरू निर्जीव मेसिन होइनन् भन्ने कुरालाई समाजले चटक्कै बिर्सन थालेको छ । हामीले तिरेको करबाट तलब खाने कर्मचारी हाम्रा निजी नोकर हुन् दास हुन् यिनको कुनै जात र धर्म छैन । यिनीहरू भावना शून्य छन् । यिनको परिवार छैन, समाज छैन, निजी जीवन छैन भन्ने सोच बिस्तारै झाँगिन थालेको छ । के कर्मचारीलाई यो समाजमा बाँच्ने अधिकार छैन ? कर्मचारी यो देशको नागरिक हैन ? नागरिकले पालना गरेको कुनै नियम कानुन के कर्मचारीले मानेको छैन ?

समाजका केही नवठालुहरूको अहङ्कार र घमण्डले सरकारी सेवाप्रति वितृष्णा फैल्याउन थप मलजल गरेको छ । अपारदर्शी गैरसरकारी संस्थाबाट केही लाखमा तलब बुझेर राज्यको सूचना बिक्री गर्ने, राज्यको कमजोरीको खेदोपाइला गर्ने र लगातार प्रहार गर्न रुचाउने कथित कतिपय नन स्टेट एक्टर भनाउँदा ठालुहरूले सरकारी संयन्त्रमाथि निसाना लगाएको देखिन्छ । सामाजिक मूल्य, मान्यता र आदर्शलाई भुलेर समाजले देखाउने दोहोरो चरित्रको कारण पनि सरकारी सेवाप्रतिको वितृष्णा बढ्दै गएको छ । एकातिर यही समाज हो जसले कर्मचारीलाई भ्रष्टाचारीको ट्याग लगाउँछन् जसको निसानामा साना र इमानदार कर्मचारी परेका छन् । अर्कोतिर ठुला भ्रष्टाचारी कर्मचारीको गुणगान र मेजमानमा यही समाज रमाउँछ । आफ्नी छोरीको विवाह एउटा हुलाकका कर्मचारीसँग गर्नुभन्दा भन्सारका कर्मचारीसँग गर्न रुचाउने यो नागरिक समाजको नियत कति सफा छ ? अपवादका केही प्रतिशत भ्रष्ट कर्मचारीसँग एउटै डालोमा मिसाएर कर्मचारीको हुर्मत लिन पाउँदा आनन्दित र रोमाञ्चित हुने कथित नवसम्भ्रान्तहरूको कटाक्षप्रति कर्मचारीले पनि समयमै डटेर सामना नगरेकै कारण यसो हुनु पुगेको हो ।

के सरकार र सरकारी कर्मचारी मात्र जिम्मेवार हुनुपर्ने अनि नागरिक समाजले चाहिँ जे भने पनि हुने जसो गरे पनि हुने हो ?

समाजले भुल्न नहुने कुरा के भने, कर्मचारी पनि यही समाजका जिम्मेवार सदस्य हुन् । उनीहरूले पनि आफ्नो कमाइअनुसार गाँस काटेर सरकारलाई ट्याक्स तिर्छन् । राज्यको नियम कानुन शिरोपर गर्छन् । सरकारको आदेश तामेल गर्छन् अनि जनताको समस्या सरकारलाई अवगत गराउँछन् र समाधानका विकल्पसमेत सुझाउँछन् । जीवनका उर्वर उमेरसहित धेरै थोक गुमाएर जनताको खातिर सरकारको काममा विभिन्न कठिन भूगोलहरूमा बसेर गरेको सेवाबापत पारिश्रमिक स्वरूप तलब भत्ता र अबकासपश्चात पेन्सन लिन्छन् । यो सुविधा कसैको भाग खोसेर लिएको हैन । अब नियुक्ति हुनेको हकमा त त्यही पेन्सनको सुविधा पनि खोसिसकेको छ ।

राज्यप्रतिको कर्तव्य नसिकाउने अनि सामाजिक परिचालन र सचेतना अभिवृद्धि कार्यक्रमको ब्यानरभित्र देशी विदेशी षडयन्त्रकारी स्वार्थ समूहको गोटी बनेर सोझासाझा जनताबिच अनावश्यक हक अधिकार माग्न हौस्याउने नै सरकारी संरचना र कर्मचारी माथि घुमाउरो तरिकाले मन्द विष छर्दै छन् । यस्ता गतिविधिप्रति सरकार र कर्मचारी चनाखो बन्नै पर्दछ । इमानदार सरकारी कर्मचारीले विभिन्न आवरण ओढेका कतिपय गैरसरकारी संस्थाका कर्तुत सजिलै पूरा हुन दिँदैनन् । त्यसैले उनीहरू बेइमान कर्मचारीको साथ खोज्छन् । त्यस्ता कर्मचारीलाई विदेश भ्रमण गराउँछन्, तारेहोटलको डिनर चखाउँछन्, आकर्षक बैठक भत्ता उपलव्छ गराउँछन् अनि अवकाशपछिको नियुक्तिसमेत दिने भनी जाल फिँजाउँछन् । कतिपय नीच र लोभी कर्मचारी सेवाको मर्यादा भुलेर पद र पैसाको लागि लम्पसार हुन्छन्‌ । सेवाको गरिमाभन्दा पैसा नै ठुलो ठान्ने केही द्रव्य पिचासहरूकै कारण आम सरकारी कर्मचारीलाई त्यस्ताहरूले हेप्ने गरेको देखिन्छ ।

निश्चय नै सरकारी कर्मचारीलाई राज्यले पूरा पेट खान दिएको छैन । इमानदार कर्मचारीलाई वैधानिक कमाइले गुजारा चलाउन हम्मे हम्मे छ । यसो भन्दैमा उ कसैको मजाकको विषय हुन सक्दैन । सरकारी सेवामा सुधार गर्नुपर्ने प्रशस्त जुञ्जाइसहरू छन् । समयको दबाबले त्यो क्रमशः पूरा हुँदै जाला । सरकारी सेवामा मौद्रिक सुविधा कम छ भन्दैमा सरकारी कर्मचारीहरू हुतीहारा हैनन् र हुन पनि सक्दैनन् । अँध्यारो दुलोभित्र बसेर कमाएको कमाइले समाजमा चुरीफुरी गर्नेहरूको सम्पत्ति शुद्धीकरण कानुनबमोजिम आम्दानीको वैधानिक स्रोत खोजी गर्ने हो भने धेरैको हरिबिजोग हुने निश्चित छ । सरकारी संयन्त्र अलि कमजोर भएकै कारण ती महासयहरूलाई यो सुविधा हालसम्म प्राप्त भइरहेको छ ।

राष्ट्रले पेटभर खान नदिएपनि राष्ट्रसेवकको अनुपम दर्जा पाएको छ । यो नै ठुलो गर्वको कुरा हो । राष्ट्र सेवालाई पैसाको मोलतोलमा तौलन कदाचित सकिँदैन । पैसाले इमान किन्न पाइने भए समाजमा सबैभन्दा बढी इज्जतदार भ्रष्टाचारी, कालोबजारी, तस्कर, माफिया, अपहरणकारी, जाली झेली, अपराधी, हत्यारा, चोर डकैतहरू हुन्थे होलान् । राष्ट्रको सर्वोच्च निकायमा रहने राष्ट्रपतिको वार्षिक वैधानिक तलब भत्ता अहिले करिब १५-16 लाखको हाराहारीमा होला । सीमा बोर्डरमा मालसामान तस्करी गर्नेले मौका पर्दा १ घण्टामा करोड कमाउँदो हो । पैसाले ठुलो हुने भए त राष्ट्रपतिभन्दा त्यही तस्कर नै ठुलो हुनुपर्ने हो नि ?

यसो भन्नुको तात्पर्य सरकारी सेवा र सरकारी कर्मचारी ठुलो हो भन्न खोजिएको कदापि हैन तर यो चैँ पक्कै हो कि सरकारी सेवा र सरकारी कर्मचारी अन्य कुनै पनि व्यक्ति र संस्थाभन्दा कुनै पनि मानेमा तल्लो ग्रेडमा चाहिँ पर्दैन । पैसा, पावर र पहुँचको उन्मादले तलब र कमाइलाई तौलेर सरकारी सेवा र सरकारी जागिरेप्रति समाजमा गरिने घटिया खालका व्यवहार र सोचलाई बदल्नुको लागि सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिलाएर पेसामा घमण्ड गर्ने खालको हैन गर्व गर्न लायक सरकारी जागिरे बनाउने वातावरण तयार गरिनु पर्दछ । यति हुने हो भने सरकारी कर्मचारी आफ्ना जहान छोराछोरीको लालन पालनकै लागि शीर झुकाएर घुस खोरीबाट अलि टाढिँदै जाने थिए । सर्वसाधारणको दृष्टिकोण पनि फेरिने थियो ।

सरकारी सेवा र जागिरेप्रति नागरिक तहबाट गरिने आलोचना, कटाक्ष र अमानवीय व्यवहारले सरकारी सेवाको गुणस्तर बढ्दैन । सरकारी सेवामा गुणस्तर भर्न समाज पनि उत्तिकै सिर्जनशील, सहयोगी र सदाचार हुनै पर्दछ । सरकार र सरकारी कर्मचारीले मात्र आइसोलेसनमा बसेर काम गर्न सक्दैन । समाजले उल्टो वातावरण दिने अनि सरकारी संस्था र सरकारी कर्मचारीबाट चाहिँ सुल्टो नतिजा अपेक्षा गर्नु विडम्बनापूर्ण हुन्छ । हो कुनै पनि सुधारको लागि नागरिक दबाब अपेक्षित हुन्छ, आलोचना ग्राह्य हुन्छ तर सदाबहार एकोहोरो रूखो व्यवहारले मात्र हुँदैन ।

कुनै बेलाको युरोपको साहित्य पढ्दा त्यहाँका मानिसहरू पैसा, यौन र भूमिको लागि जे पनि गर्न तयार हुन्थे । त्यस्तै खालको कुलक्षणहरू कतै हाम्रो समाजमा देखा पर्न थालेको त हैन ? पैसा र यौनको लागि फिल्मी शैलीमा मान्छेको हत्या, अपहरण, बलात्कार, भ्रष्टाचार गर्नेदेखि लिएर फर्जी जग्गाधनी खडा गरेर अर्काको घरजग्गा हडप्ने, सरकारी सार्वजनिक बाटोघाटो, चौर, ताल तलैया, बनजंगल आदि अतिक्रमण गर्ने प्रवृत्ति नेपाली समाजमा बढेर गएको छ । यी र यस्तै हर्कतहरू नियन्त्रण गर्नैकै लागि भए पनि सरकारी सेवा र सरकारी कर्मचारी बलियो हुनुको विकल्प छैन । अब सरकारी सेवालाई राष्ट्रको सिन्दूरकोरूपमा लिने पुरानो मान्यतालाई पुन स्थापित गराएर छोरी माग्न जानेलाई खोजी आऊ पहिले सरकारी जागिर भन्ने अवस्थाको पुनरागमन गराउने बाटोमा सरकारी सेवाका सबै कर्मचारीहरू दिलैदेखि लाग्नु पर्दछ । यी तीनथरि डक्टरहरूले नै राज्यलाई चलायमान बनाउँछन् । सदन, सरकार र सडकमा यिनैको उपस्थिति हुन्छ यिनैको क्रिया प्रतिक्रिया आवश्यक हुन्छ ।

अन्त्यमा, सरकारी सेवालाई सम्मानित बनाउन सबैभन्दा पहिले सरकारले सरकारी सेवाको गुणस्तरको ग्यारेन्टी गर्ने, सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउने, सरकारी सेवालाई अत्याधुनिक प्रविधिले सुसज्जित बनाउने, अव्वल युवालाई सरकारी सेवामा भित्र्याउने । कर्मचारीलाई जीवन निर्वाहको पर्याप्त प्रबन्ध गरी उत्प्रेरणा र हौसला दिने । सरकारी सेवाका राष्ट्रसेवकहरूले पनि आफ्नो सेवा सम्बद्ध ज्ञान, सीप, कला, कौशल, नवसिर्जना, पेसागत व्यावसायिकता हासिल गरी जनताको सुख, सुविधा र उन्नतिको लागि आफूलाई प्राप्त सरकारी स्रोत साधन, अधिकार र कर्तव्यको समुचित उपयोग गर्ने । नागरिक समाजले पनि नागरिक हक अधिकारका साथै नागरिक जिम्मेवारी पूरा गर्न सही आलोचनासहित रचनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्ने हो भने राज्य रुपी ओदानको तीन वटै खुट्टीको सुन्दर संयोजन हुन गई समस्याको रचनात्मक ढङ्गले समाधान गर्न सकिने कुरामा कुनै द्विविधा छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस