अर्थको वेबसाइट चल्दैन ! « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अर्थको वेबसाइट चल्दैन !


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । देशको प्रमुख प्रशासनिक निकाय हो सिंहदरबार । राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वपूर्ण निर्णय हुने सिँहदरवार संघीय सरकारको केन्द्र पनि हो । यस हिसाबले पनि यहाँ आधारभुतस्तरका सबै सेवा सुविधाहरू चुस्त र दुरुस्त हुनुपर्दछ । तर पछिल्लो समय अरू कुरा त परै जाओस् सामान्य बनिसकेको इन्टरनेट र सर्भरसमेत राम्ररी चल्दैन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

सर्भरकै नाममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बर्सेनि करोडौँ रुपैयाँ खर्च गर्दै आएको भए पनि मन्त्रालयका कर्मचारीहरूले बारम्बार भोगी रहने समस्या हो सर्भर जाने र वेबसाइट नै नचल्ने । केही दिन यता अर्थ मन्त्रालयको वेबसाइट चलिरहेको छैन । एमओएफ डट जीओभी डट एनपी नखुलेको हो । त्यसो त हरेक दिन कुनै न कुनै मन्त्रालयको वेबसाइट बिग्रेकै हुन्छ । यसबारे बुझ्न खोज्दा जिम्मेवार र आधिकारिक कर्मचारीले फोन नै उठाउँदैनन् भने सहायक स्तरका कर्मचारी कहिले मेन्टिनेन्स त कहिल्यै भर्खरै गयो बनाउँदै छौ भनेर भन्छन् ।

केही दिन अघि मात्रै सरकारी सिस्टम मेल डट नेपाल डट गभ डट एनपी डाउन भएपछि ९–९ घण्टासम्म सबै सरकारी सिस्टम प्रभावित भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, रक्षा, गृहलगायत दर्जनौँ महत्त्वपूर्ण मन्त्रालयको वेवसाईटहरुसमेत बन्द रहे तर कतैबाट खासै चाँसो देखाइएन । के भएको भनेर सोध्दा केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले बिद्यूत प्राधिकरणको ट्रान्सफर्मरलाई दोष देखाए । डाटा सेन्टर छेउकै ट्रान्सफर्मर फड्केर त्यसको झट्का आयो भन्ने जस्ता हास्यास्पद तर्क दिए । तर बारम्बार यसो हुनुको कारण भने अर्कै छ ।

सम्बन्धित समाचार : सरकारी सर्भर डाउन : कमिसनको खेलमा कमसल सामानको कमाल !

यसमा सीमित व्यक्तिहरूको मिलेमतोमा करोडौँको खेल भइरहेको विशेष स्रोतको दाबी छ । वर्षौँदेखि दुहुनु गाई जस्तै बनाइँदै आएको केन्द्रमा जडान गरिएका उपकरण, मर्मतका नाममा भइरहेको खर्च विवरण तथा कार्यरत कर्मचारीको चलखेललाई नियाल्ने हो भने पनि यो कुरा सजिलै पत्ता लाग्नेछ । तर यो सेटिङमा शक्तिशाली केही व्यक्तिहरू नै संलग्न रहेकोले पनि कसैले आवाज उठाउन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस