बुटवल । नेपाली काँग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका नवलपरासी सुस्ता पश्चिमका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।
गिरीलाई बुटवलको कोरोना अस्पतालमा कोरोना सङ्क्रमण देखिएको थियो । उनी साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका थिए । पाटन अस्पतालमा उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
सोमबार राति ११ बजेदेखि उनको श्वासप्रश्वासमा समस्या आएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको मङ्गलवार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
केही दिन अघि मात्रै गिरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्त थैलीको पत्थरीको शल्यक्रिया गरिएको जनाइएको छ । त्यसपछि श्वास प्रश्वासमा समस्या देखिएपछि सोही मेडिकलमा पुनः जाँच गराउँदा पीसीआर पोजेटिभ आएको हो ।
कोरोना अस्पतालमा भर्ना भएका उनलाई थप उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो ।