स्थानीय तहमा राजनीतिज्ञ र प्रशासकबिचको अन्तरसम्बन्ध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्थानीय तहमा राजनीतिज्ञ र प्रशासकबिचको अन्तरसम्बन्ध


१८ असार २०७७, बिहिबार


राजनीतिज्ञ प्रजातान्त्रिक चुनावको माध्यमबाट नागरिकद्वारा निर्वाचित भएर देशको शासन चलाउने गर्दछन् भने प्रशासक योग्यता प्रणाली मार्फत नियुक्त भई देशको प्रशासन सञ्चालनमा संलग्न हुने गर्दछन्। राजनीतिज्ञले राजनीतिक मूल्यमान्यता र संस्कृतिमा आधारित भएर कार्यसम्पादन गर्दछन् भने प्रशासकले प्रशासनका पूर्व निर्धारित मूल्यमान्यता र संस्कृतिमा केन्द्रित भई कार्यसम्पादन गर्दछन् । जिम्मेवारी र कार्य सम्पादनको हिसाबले राजनीतिज्ञ र प्रशासक फरक देखिएतापनि यी दुवै बिचको सुमधुर सम्बन्ध र अन्तरक्रियाले शासनमा असल शासनको प्रत्याभूति गराउँदछ ।

सैद्धान्तिक आधार
राजनीतिज्ञ र प्रशासक बिचको सम्बन्धलाई प्रकाश पार्न विभिन्न मोडलहरू विकास भएका छन् । अर्थोडक्स डिकोटोमी मोडलका पक्षधर विल्सनले आफ्नो कृति ‘प्रशासनको अध्ययन’ र वेबरको ‘अर्थव्यवस्था र समाज’ मा राजनीति र प्रशासनको भूमिका अनि सम्बन्धको बारेमा छलफल गरेका छन् । विल्सनका अनुसार राजनीति र प्रशासन दुई अलग र फरक क्षेत्र हुन् त्यसैले एक अर्काबाट अलग राख्नु पर्दछ र यी दुवै बीच स्पष्ट सीमा र रेखा हुनुपर्दछ । आदर्श प्रशासक राजनीतिक रूपले तटस्थ, प्राविधिक विशेषज्ञ र राजनीतिज्ञको अधीनस्थ हुनुपर्दछ साथै उनीहरूको भूमिका र जिम्मेवारीमा स्पष्ट रूपमा भिन्नता हुनु पर्दछ भन्ने तर्क वेबरले गरेका छन् । राजनीतिज्ञले नीति बनाउने र प्रशासकले प्रशासनको माध्यमबाट सफल रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा विल्सन र वेबरका छन् । मोन्टजॉइ र वाटसनका अनुसार, डिक्टोमी राजनीति र प्रशासनमा लागू हुन सक्छ तर नीति र प्रशासनमा होइन । प्रशासनले नीति कार्यान्वयन बाहेक सक्रियताकासाथ नीति निर्माणमा पनि संलग्न हुनुपर्दछ भन्ने धारणा परिमार्जित डिकोटॉमी मोडेलका रहेका छन् । यस मोडेलले प्रशासकलाई पूर्ण रूपले नीति निर्माणमा सामेल हुन अनुमति दिन्छ भने राजनीतिज्ञलाई नीति कार्यान्वयनबाट बाहिर राखेका छन् । अर्थोडक्स डिकोटोमी मोडलले नीति निर्माण प्रक्रियामा प्रशासकलाई प्रतिबन्धित गरेतापनि, वास्तवमा, नीति निर्माण कार्यलाई प्रशासन भन्दा अलग गर्न सकिँदैन । साझेदारी मोडेलका अनुसार प्रशासक र राजनीतिज्ञको सम्बन्ध अर्थोडक्स डिकोटोमी मोडल र परिमार्जित डिकोटॉमी मोडेल भन्दा भिन्न छन् । राजनीतिज्ञ र प्रशासक बिच नीति निर्माण र कार्यान्वयनमा पूरक भूमिका हुनुपर्दछ भन्ने धारणा साझेदारी मोडेलको रहेको छ । राजनीतिज्ञ र प्रशासक एक अर्कामा आपसमा जोडिएका हुन्छन् । सवाराका अनुसार अर्थोडक्स डिकोटोमी भने जस्तो राजनीति र प्रशासनको कडाइ साथ छुट्ट्याउनु अनुत्पादक हो । राजनीति र प्रशासन परिपूरक र एक आपसमा सम्बन्धित छन् र यसलाई कडी साथ छुट्ट्याउनु औचित्यहीन देखिन्छ । राजनीतिज्ञ र प्रशासकहरू बिच नीति निर्माण र कार्यान्वयनमा पूरक भूमिका हुनुपर्छ । नीति बनाउने र कार्यान्वयनमा दुवै उत्तिकै जिम्मेवार हुनुपर्छ । जेकबसेनका अनुसार प्रशासक राजनीतिक निर्णयमा निर्भर हुने गर्दछ भने राजनीतिज्ञ राजनीतिक निर्णयको कार्यान्वयनकालागि प्रशासकको पेशेवर सल्लाहमा निर्भर हुने गर्दछ । खासमा भन्नुपर्दा राजनीतिज्ञ र प्रशासक प्रजातान्त्रिक शासनका दुई फरक कर्ताहरू भएतापनि यिनीहरू पारस्परिक रूपमा निर्भर हुने गर्दछन् । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अहिलेको शासन प्रक्रियामा यिनीहरूको अन्तरक्रिया निरन्तर रूपमा भइरहने हुँदा पूर्ण रूपमा छुट्ट्याउनु आव्यवाहरिक देखिन्छ ।

स्थानीय तहमा राजनीतिज्ञ र प्रशासक बिच सम्बन्ध
नेपालमा सन् १९९७ मा निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल समाप्त भएपछि स्थानीय तहको निर्वाचन सन् २००२ को लागि निर्धारित गरिएतापनि गृहयुद्धको कारण स्थगित गरियो । त्यसपछि २०१७ सम्म कुनै स्थानीय निर्वाचन भएन । परिणाम स्वरूप नेपालमा स्थानीय शासनमा करिब १५ वर्ष निर्वाचित जनप्रतिनिधिको अनुपस्थिति रह्यो । यो समयमा स्थानीय शासन र विकासका सम्पूर्ण गतिविधिहरू प्रशासकद्वारा कार्यान्वयन गरियो । तसर्थ, यो समयमा स्थानीय राजनीतिज्ञ र प्रशासक बिच परस्पर सम्बन्ध, निर्भरता र द्वन्द्वको मुद्दाहरू खासै देखिएको थिएन । जब स्थानीय तहको निर्वाचन २०१७ मा तीन चरणमा सम्पन्न भयो त्यसपछि ७५३ वटै स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधि र प्रशासकले नेपालको संविधान २०७२ को अनुसूची ८ (एकल अधिकार) र ९ (साझा अधिकार) मा उल्लेख भएका क्षेत्रहरूमा राज्य शक्तिको प्रयोग गर्न एक अर्कामा निर्भर हुन थालेपछि परस्पर सम्बन्ध, निर्भरता र द्वन्द्वका मुद्दाहरू बिस्तारै देखा पर्न थालेका छन् । उनीहरूको सम्बन्ध र अन्तरनिर्भरताले स्थानीय शासन र प्रशासनमा महत्त्वपूर्ण प्रभाव परिराखेको पाइन्छ । स्थानीय तहको प्रभावकारिता उनीहरू बिचको स्थिर र सन्तुलित सम्बन्धमा निर्भर रहेको छ । आपसी सहयोग र साझा समझदारी बिना, स्थानीय तहले प्रभावकारी ढङ्गले आफ्नो कार्यसम्पादन गर्न सक्दैन । स्थिर र सन्तुलित सम्बन्ध स्थानीय शासन र प्रशासनको अनिवार्य सर्त हो । स्थानीय तहमा राजनीतिज्ञ र प्रशासकको सम्बन्धलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

राजनीतिज्ञ र प्रशासक बिच एक अर्का प्रतिको धारणा
नेपालको सार्वजनिक प्रशासनको इतिहासमा राजनीतिज्ञ र प्रशासक बिचको अन्तर सम्बन्ध सधैँ नजिकको रहेको छ । स्थानीय तहको निर्वाचन पश्चात् स्थानीय तहको शासन र प्रशासनमा राजनीतिज्ञ र प्रशासक बिचको सम्बन्धलाई केन्द्रमा राखेर निकै छलफल तथा बहस भएको देखिन्छ । राजनीतिज्ञ र प्रशासकको एक अर्का प्रतिको धारणा तथा विश्वासले उनीहरूको सम्बन्धमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । राजनीतिज्ञका अनुसार प्रशासक प्रशासनिक संयन्त्रबाट निर्देशित हुन्छन् जाहाँ उनीहरू पूर्वनिर्धारित नीति-नियममा केन्द्रित रहेर आफ्नो कार्यसम्पादन गर्ने गर्दछन् । राजनीतिज्ञले प्रशासकलाई विशेषज्ञको रूपमा लिने गर्दछन् किनभने प्रशासक योग्यता प्रणालीबाट नियुक्त भएका हुन्छन् । प्रशासक सार्वजनिक चासो र जनताको मागको बारेमा कम चिन्तित हुने र आफ्नो वृत्ति विकासमा बढी केन्द्रित भएको राजनीतिज्ञको ठम्याई छ । यसको विपरीत प्रशासकका अनुसार राजनीतिज्ञले प्रशासनिक प्रक्रिया तथा जटिलतालाई विचार नगरी रातारात विकासका सम्पूर्ण गतिविधिहरू सम्पादन गर्न खोज्छन् जुन असम्भव प्राय: देखिन्छ । राजनीतिज्ञले प्रशासनका सीमितता तथा जटिलतालाई ध्यान नदिने गरेको ठम्याई प्रशासकको रहेको छ । राजनीतिज्ञ र प्रशासकको एक अर्का प्रतिको धारणा र दृष्टिकोण स्थिर नभई अर्थ-राजनीतिक गतिशीलता अनुसार फरक रहेको पाइन्छ ।

राजनीतिक र प्रशासनिक संस्कृति
राजनीतिज्ञ र प्रशासकको सम्बन्ध राजनीतिक तथा प्रशासनिक संस्कृतिबाट प्रभावित हुने गर्दछ । राजनैतिक संस्कृति प्रशासनिक संस्कृति भन्दा भिन्न हुन्छ । सांस्कृतिक रूपमा राजनीतिज्ञ राजनीतिक विचारधारा र अभिमुखीकरणबाट निर्देशित हुन्छन् भने प्रशासक प्रशासनिक सामाजीकरणबाट निर्देशित हुन्छन् । सायद त्यसैले होला राजनीतिज्ञ काम तुरुन्त गर्ने र प्रक्रिया पछि मिलाउने कुरामा विश्वास गर्छन् भने प्रशासकले पूर्व निर्धारित नीति-नियम र प्रक्रियामा केन्द्रित रही कार्यसम्पादन गर्नु पर्छ भन्ने कुरामा विश्वास गर्छन् । पूर्वनिर्धारित नीति-नियम र प्रक्रियामा आधारित नभएका राजनीतिज्ञको आदेश पूरा गर्न प्रशासकले आलटाल गर्ने गर्दछ । प्रशासनिक नीति-नियम र प्रक्रियालाई राजनीतिज्ञले पूर्ण रूपमा बेवास्ता गर्छन् भन्ने पनि होइन, सुशासनका लागि थोरै भएपनि नीति-नियम र प्रक्रिया प्रति सचेत उनीहरू देखिन्छन् । नीति-नियमलाई कडाइ साथ हरेक परिस्थितिमा पुरा गर्नु भन्दा पनि कहिलेकाहीँ व्यवहारिक सोच्नु पर्छ भन्ने पक्षमा राजनीतिज्ञका उभिएको पाइन्छ । प्रशासकले अनावश्यक प्रशासनिक समस्याहरू सिर्जना गर्दछ भन्ने ठम्याई राजनीतिज्ञमा देखिएतापनि वास्तवमा, प्रशासकका अनुसार समस्या सिर्जना गरिएको होइन, शासनलाई कानुनी बनाइएको हो । यसबाट के स्पष्ट हुन्छ भने सांस्कृतिक रूपले प्रशासक पूर्वनिर्धारित नियम र प्रक्रियाको अधीनस्थ हुने गर्दछ भने राजनीतिज्ञ परिणाम केन्द्रित बिचारको अधीनस्थ हुन्छ ।

नीति निर्माण र कार्यान्वयन
राजनीति र प्रशासनको सम्बन्धमा नीति निर्माण र कार्यान्वयन लामो समयदेखि व्यापक बहसको विषय बनेको छ । राजनीतिज्ञले नीति निर्माण गर्ने र प्रशासकद्वारा सो को प्रभावकारिताका साथ लागू गर्नुपर्दछ भन्ने मान्यता अर्थोडक्स डिकोटोमी मोडेलको रहेको देखिन्छ । यसको प्रतिक्रियामा, परिमार्जित अर्थोडक्स डिकोटोमी मोडलले प्रशासकहरूलाई समेत नीति निर्माण कार्यमा संलग्न हुनु पर्छ भनेको छ भने राजनीतिज्ञलाई नीति कार्यान्वयनबाट हटाएको देखिन्छ ।

अर्कातर्फ साझेदारी मोडेलले भने राजनीतिज्ञ र प्रशासक दुवै नीति निर्माण र कार्यान्वयनमा पूरक भूमिकामा रहनु पर्ने कुरा उल्लेख गरेको छ । स्थानीय तहमा नीति निर्माण र कार्यान्वयनमा राजनीतिज्ञ र प्रशासकको भूमिका सक्रिय देखिएको छ । राजनीतिज्ञले नीति ल्याउने र प्रशासकले नीतिलाई कार्यान्वयन गर्ने गरेको देखिएको छ । यसको मतलब यो होइन कि प्रशासक नीति निर्माणमा र राजनीतिज्ञ नीति कार्यान्वयनमा पूर्ण रूपमा बाहिर रहने गर्छन् । स्थानीय जनप्रतिनिधि भएको नाताले राजनीतिज्ञ नीति निर्माण गर्नुका साथै कार्यान्वयन प्रक्रियामा पनि सक्रिय रूपमा समिल भएको देखिन्छ भने प्रशासक नीति निर्माणमा सक्रिय साथ संलग्न रहेतापनि उसको भूमिका कम प्रभावशाली रहेको देखिन्छ । नीति कार्यान्वयन गर्नेमा प्रशासकको भूमिका सक्रिय र प्रबल देखिन्छ । प्रशासकले राजनीतिज्ञलाई नीति निर्माण सम्बन्धी तटस्थ र कानुनमा आधारित अनुभवी सल्लाह दिने गरेको देखिन्छ ।

राजनीतिक नियन्त्रण र व्यावसायिक स्वायत्तता
राजनीतिक नियन्त्रण र व्यावसायिक स्वतन्त्रताले स्थानीय तहको शासन र विकास गतिविधिमा प्रभाव परेको देखिन्छ । स्थानीय तहको प्रशासकले उच्च स्तरको व्यावसायिक स्वायत्तताका साथ विद्यमान राजनीतिक शक्तिहरूको प्रभावबाट मुक्त रही कार्य सम्पादन गर्ने अपेक्षा राखेको देखिन्छ । प्रशासन र विकासका गतिविधिहरू गर्दा प्रशासकले राजनीतिक नियन्त्रण, दबाब, र हस्तक्षेप नहोस् भन्ने चाहना राखेता पनि उसले विभिन्न राजनीतिक नियन्त्रण, दबाब र हस्तक्षेपको सामना गरिरहेको देखिन्छ । राजनीतिज्ञको दिशानिर्देश र नेतृत्व अनुसार प्रशासकले कार्यसम्पादन गर्नुपर्छ भन्ने मान्यता राजनीतिज्ञ को हुन्छ र सोही अनुसार अन्तरक्रियात्मक व्यवहार प्रदर्शन गर्ने गरेको देखिन्छ । राजनीतिज्ञले यसलाई लोकतान्त्रिक राज्यको शासनको रूपमा लिने गर्दछ । यसवटा स्पष्ट के हुन्छ भने प्रशासकले राजनीतिक अधीनस्थ र नियन्त्रणमा रही काम गरुन् भन्ने अपेक्षा राजनीतिज्ञको हुन्छ भने प्रशासकले व्यावसायिक स्वायत्तताका साथ कानुनको दायरामा रही विना राजनीतिक हस्तक्षेपमा कार्यसम्पादन गर्ने अपेक्षा राखेको हुन्छ।

द्वन्द्व र सहयोग
अक्सर राजनीतिज्ञ र प्रशासक बिच द्वन्द्व र सहयोग हुने गर्दछ । राजनीतिज्ञ र प्रशासक अत्यन्त नजिक रूपमा रही कार्यसम्पादन गरेतापनि यिनीहरू अत्यन्त भिन्न छन् । यी दुई बिचको दृष्टिकोणमा समानता आएमा एक आपसलाई सहयोग गर्दछन् भने असमानता आएको खण्डमा द्वन्द्व सिर्जना हुने गर्दछ । राजनीतिज्ञ र प्रशासकको स्पष्ट कार्य जिम्मेवारी तथा भूमिकाले आपसी द्वन्द्व कम गर्ने गर्दछ । राजनीतिज्ञले केन्द्रीय सर कारबाट खटाइएको प्रशासकलाई स्थानीय तहका कर्मचारी भन्दा कम स्वामित्व भएको देख्छन् । केन्द्रबाट खटिएका प्रशासकले स्थानीय तहको आवश्यकता भन्दा पनि केन्द्र सरकारको चाहनामा रही कार्यसम्पादन गर्छन् भन्ने मान्यता राजनीतिज्ञको रहेको छ । राजनीतिज्ञका अनुसार केन्द्रबाट खटिएका प्रशासक क्षमतावान् छन् तर स्थानीयक रण हुन सकेका छैनन् । प्रशासकले अनावश्यक प्रशासनिक प्रक्रिया देखाउँदै आफ्नो रुचि अनुसार नीति-नियमको व्याख्या गर्छन् भन्ने तर्क राजनीतिज्ञले गर्ने गरेका छन् । यद्वपी प्रशासकको धारणा अलि फरक देखिन्छ । राजनीतिज्ञ आफूलाई सरकार सम्झन्छन् र कानुनी प्रक्रियाहरूलाई विचार नगरी निर्णय लिन्छन् भन्ने तर्क प्रशासकको रहेको पाइन्छ । प्रशासकले पूर्व निर्धारित नीति-नियममा आधारित रहेर राजनीतिज्ञले दिएको निर्देशन पालना गर्न चाहन्छन् भने राजनीतिज्ञहरू जनताको आवश्यकता र माग अनुसार प्रशासकलाई नियन्त्रण गर्न खोजेका हुन्छन् । राजनीतिज्ञ र प्रशासक बिच यी पक्षहरूमा समान दृष्टिकोण नआउँदा द्वन्द्व सिर्जना हुने गरेको देखिन्छ ।

अवसर र चुनौतीहरू
निसन्देह, स्थानीय तहको सफलता र असफलता राजनीतिज्ञ र प्रशासकको रचनात्मक सम्बन्ध र भूमिकामा निर्भर रहन्छ । स्थानीय तहको सफलताका लागि राजनीतिज्ञ र प्रशासकको दुबैसँग अवसर र चुनौतीहरू छन् । स्थानीय शासनद्वारा आम जनताको कल्याण र समृद्धि को अपेक्षा पुरा गर्न राजनीतिज्ञ र प्रशासकसँग अवसर रहेको छ भने उनीहरबीच विद्यमान फरक विचारधारासँग जुधेर कार्यसम्पादन गर्नु चुनौतीपूर्ण रहको छ । राजनीतिज्ञले राजनीतिक दृष्टिकोणबाट आफ्नो कार्यकालमा स्थानीय तहको समृद्धि र विकास गर्ने चुनौतीको सामना गरिरहेका छन् भने प्रशासकले पूर्व निर्धारित नीति-नियमका आधारमा समृद्धि र विकास गर्ने चुनौतीको सामना गरिरहेका छन् । तसर्थ राजनीतिज्ञ र प्रशासक दुवैले यी चुनौतीहरूलाई राष्ट्रको विकास र जनताको कल्याणको लागि अवसरमा रूपान्तरण गर्नु पर्ने देखिन्छ । यसका लागि दुवै बिचको सुमधुर र सन्तुलित सम्बन्ध अनिवार्य सर्त हो ।

निष्कर्ष
देशको समग्र विकास र स्थानीय जनताको समृद्धिका लागि राजनीतिज्ञ र प्रशासकको सम्बन्ध र भूमिकालाई बेवास्ता गर्न सकिन्न । स्थानीय शासन र विकासको प्रमुख कर्ताको रूपमा रहेको राजनीतिज्ञ र प्रशासक बिच असल र सन्तुलित सम्बन्ध कायम हुनुपर्दछ । प्रशासकलाई राजनीतिक समर्थन तथा रणनीतिक दिशा चाहिन्छ भने राजनीतिज्ञलाई प्रशासकको प्रशासनिक सहयोग चाहिन्छ । फरक दृष्टिकोण भएका राजनीतिज्ञ र प्रशासक बिच द्वन्द्व उत्पन्न हुनु स्वाभाविक हो । त्यसलाई आपसी समझ, नियमित र रणनीतिक कुराकानीले कम गर्न सकिन्छ । राजनीतिज्ञ र प्रशासकको आफ्नै दायरा, मूल्य-मान्यता, विश्वास र सीमाहरू छन् जसलाई एक अर्काले बुझ्न र सम्मान गर्न सके द्वन्द्व व्यवस्थापन गर्न सकिन्छ । असल शासनको सांस्कृति निर्माणका लागि राजनीतिज्ञ र प्रशासकले आ-आफ्नो मनोवृत्ति र व्यवहारमा सुधार गर्नु अनिवार्य सर्त हो ।

(नोट: प्रस्तुत लेख लेखकद्वारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बुझाइएको अनुसन्धान प्रतिवेदन तथा स्थानीय सरकार त्रैमासिक (अप्रिल-जून २०१९) मा प्रकाशित लेखमा आधारित छ ।)

 

Tags :
प्रतिक्रिया दिनुहोस