बेलायती सेनाध्यक्ष काठमाडौँमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बेलायती सेनाध्यक्ष काठमाडौँमा


३ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । बेलायतका सेनाध्यक्ष मार्क कार्लेटन-स्मिथ नेपालको साताव्यापी औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइपुगेका छन्।

मार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरेका छन्।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

‘यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बेलायती सेनाबिच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध थप सुमधुर एवम् प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ’, जङ्गी अड्डाले शनिवार एक विज्ञप्तिमा भनेको छ।

जङ्गी अड्डाले जनाएअनुसार बेलायती सेनाध्यक्ष मार्क आइतबार फागुन ४ गते टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नेछन्। साथै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणको क्रममा मार्कले पोखरास्थित पश्चिम पृतना मुख्यालय, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र केही महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ।

उनी फागुन ९ गते स्वदेश फर्किने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस