कोभिड–१९ नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोभिड–१९ नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन


प्रशासन संवाददाता

३ फाल्गुन २०७६, शनिबार


बेइजिङ । चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरस (कोभिड–१९) विरूद्ध लडिरहेका स्वास्थ्यकर्मीको काम गर्ने अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएको एक वित्त अधिकारीले बताएका छन् ।

अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले बेइजिङमा गरेको एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । यो रकम स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गर्न र चिकित्सा संस्थामा आवश्यकता अनुसार सुविधा बढाउन प्रयोग गरिने उनले बताए ।

सबै अग्रमोर्चामा काम गर्ने स्वास्थ्य तथा महामारी रोकथामका लागि खटिएका व्यक्तिले जोखिममा काम गरेबापत कामका आधारमा प्रतिदिन प्रतिव्यक्ति २०० युआनदेखि ३०० युआनसम्म थप भत्तास्वरूप प्रदान गरिने उनले बताए । बजेटलाई केन्द्रीय सरकारले नै उपलब्ध गराउने ओउले भने ।

कानुनी अधिकार र चिकित्साकर्मीहरूको हितको रक्षा गर्ने प्रयासलाई जोड दिँदै ओउले भने, ‘कोभिड–१९को सङ्क्रमणबाट हुने निमोनियाबाट प्रभावित चिकित्सा कर्मचारीहरूले व्यावसायिक चोटपटकका लागिसमेत क्षतिपूर्ति पाउनेछन् ।’

‘महामारी विरुद्धको लडाईमा उल्लेखनीय योगदान पुर्‍याउने चिकित्सा टोली र व्यक्तिहरूलाई प्रोत्साहन गरिनुपर्छ र तुरुन्तै सम्मान गर्नुपर्छ,’ ओउले भने । अग्रमोर्चामा काम गर्ने चिकित्साकर्मीहरूलाई प्राप्त हुने आर्थिक सहायता र लाभांशलाई व्यक्तिगत आयकरमा छुट दिइनुपर्ने पनि उनले बताए । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस